• Aug 06 2020 | २०७७, श्रावण २२गते

लकडाउनमा कडाइ: बिहानै काठमाडौंबाट २१० जना प्रहरी नियन्त्रणमा

Sobizpress SuAdmin

चैत्र १७

लकडाउनमा कडाइ: बिहानै काठमाडौंबाट २१० जना प्रहरी नियन्त्रणमा

काठमाडाैं । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्नेविरुद्ध कडारूपमा प्रस्तुत भएको प्रहरीले आज बिहान काठमाडौँबाट २१० लाई नियन्त्रणमा लिएको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले जारी गरेको आदेशलाई बेवास्ता गर्ने १० महिलासहित उनीहरुलाई काठमाडौँको विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले जानकारी दिए । सो क्रममा ७० मोटरसाइकल र पाँच चारपाङ्ग्रे गाडीलाई समेत नियन्त्रणमा लिइएको छ ।

स्वास्थ्यजस्तो गम्भीर विषयमा सरकारी आदेशको अवज्ञा गरेकालाई कडाइ थालेको प्रहरीले आज बिहान ८ बजेसम्मको समयमा उनीहरुलाई नियन्त्रणमा लिएको हो । सरकारी आदेशको पूर्ण कार्यान्वयनका लागि शुक्रबारदेखि अनावश्यक रुपमा पैदल हिँड्नेलाई समेत प्रहरीले थप कडाइ गरेको थियो ।

“पहिलो, दोस्रो दिनमा जानकारी भएन भन्ने कुरा हुनसक्थ्यो, अहिले सबैले थाहा पाएर पनि बेवास्ता गरेको पाइयो, अब कुनै सम्झौता हुन्न, अत्यावश्यकबाहेक हिँड्ने र सवारी चलाउने छुट छैन, प्रहरीले पक्राउ गर्र्छ”, डिआइजी पोखरेलले भने ।

पोखरेलले थपे, “दिनदिनै जोखिम रहेको र एउटाको लापरवाहीले आम समुदायलाई नै असर गर्ने भएकाले अब प्रहरी यसमा निर्ममरूपमा अघि बढ्छ, कोही पनि बाहिर ननिस्किनुस् ।” विश्वव्यापीरूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी चैत १८ गते बिहान ६ बजेसम्म अत्यावश्यकबाहेक बाहिर ननिस्कन आदेश जारी गरेको थियो ।


चैत्र १७, २०७६ सोमवार १२:४३:४७ बजे : प्रकाशित


Sobizpress SuAdmin

He is chief editor of our media and continously working for society.

अर्कोसमाचार

उच्च नेतृत्वको सम्पत्ति छानबिन गर्नुपर्छ : रवीन्द्र मिश्र

Sobizpress SuAdmin

चैत्र २४

उच्च नेतृत्वको सम्पत्ति छानबिन गर्नुपर्छ : रवीन्द्र मिश्र

साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले उच्च पदका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।आफूहरु सरकारमा आए २०४६ साल यताका राजनीतिक, प्रशासनिक र अन्य उच्च नेतृत्वको सम्पत्ति छानबिन गर्ने उनले सुनाए ।पार्टीको जिल्ला संयोजक घोषणा कार्यक्रममा सहभागी हुन शुक्रबार सदरमुकाम आएका मिश्रले देशमा भ्रष्टाचार मौलाएको भन्दै सचेत हुन नागरिकलाई आग्रह गरेका छन् । ‘सिमित बिचौलिया र राजनीतिक परिवारको स्तर मात्र बढेको छ, उनीहरुले देश दोहन गरिरहेका छन्,’ उनले भने, ‘नागरिक सचेत हुनुपर्‍यो ।’

मतदाताले असल नेतृत्व चुन्न नसकेको भन्दै उनले राजनीतिक मायाजालबाट मुक्त हुन आग्रह गरे ।सरकारको नेतृत्व गर्ने अवसर पाए कर्मचारी युनियन खारेज गर्ने उनले बताए । ‘प्रशासनलाई राम्रो काम गर्न नदिने कर्मचारी युनियन हो, जनताको तलव खाएर नेता, पार्टी र आˆनो मात्र सेवा गर्ने कर्मचारीको काम छैन, हरेक कार्यालयमा राखिएका युनियनका बोर्डहरु हटाउँछौ,’ उनले भने ।युनियनको आडमा खरिदार र नासुले सचिवस्तरको कर्मचारीको टेवल ठटाउने आँट गर्ने गरेको भन्दै उनले चिन्ता जनाए । शिक्षक र प्राध्यापक संगठन पनि खारेज गरिने उनको भनाइ छ । युनियन र संगठन खारेज भए जनताले सहज रुपमा सेवा पाउने उनले तर्क गरे ।

 

केही पक्ष संविधान उल्टाउने खेलमा लागेको भन्दै मिश्रले भने, ‘यो संविधान भत्काउने होइन, कमजोरी संशोधन गर्न सकिन्छ । भत्काउनुपर्छ भन्नेले सडकमा आन्दोलन गर्ने होइन, एजेण्डा ल्याउनुस्, जनताको मन जित्नुस् संसदमा जानुस् जनमत संग्रह गर्नुस् ।’राजनीतिका खिचातानीका कारण काठमाडौंले गरेको गल्ती गोरखाले पनि दोहोर्‍याइरहेको उनले बताए । ‘गोरखाले धेरै बिद्धान र ठूला नेता जन्मायो तर गन्धा राजनीतिले गर्दा जिल्लाको विकास हुन सकेको छैन,’ उनले भने ।आगामी चुनावमा साझा पार्टी बिकल्प नभइ निर्विकल्प हुनुपर्ने उनको भनाइ छ ।


चैत्र २४, २०७६ सोमवार १८:१२:५७ बजे : प्रकाशित


Sobizpress SuAdmin

He is chief editor of our media and continously working for society.

भारतका क्‍वारेन्टाइनमा नेपाली

चैत्र २१

भारतका क्‍वारेन्टाइनमा नेपाली

सुदूरपश्चिम। गरिबीका कारण रोजगारीका लागि भारत गएका नेपाली स्वदेश फर्किन खोज्दा नेपाल सरकारले रोकेपछि सीमा नाकामा उनीहरूको बिजोग भएको छ। ‘भारतको गाँसभन्दा आफ्नो मुलुकको माटो प्यारो, सरकार हामीमाथि अत्याचार नगर। हामीलाई नेपाल लैजाऊ। हामी तिमीले जहाँ राख्छौ त्यहाँ १४ दिन क्‍वारेन्टाइन बस्न तयार छौं’, दार्चुलाको मार्मा गाउँपालिकाका धनजित महताले भने, ‘यो चिसो स्टेडियमको सिमेन्टको भुइँले शरीर सुन्निन थालेको छ।’

उनी भारतको धार्चुलास्थित मिनी स्टेडियमको हलमा बसिरहेका छन्। भारतीय पक्षले खानाको व्यवस्था गरे पनि अरू व्यवस्थापन नभएको उनले सुनाए। ‘कोठामा सुत्न कुनै साधन छैन। पिफम किन्न बजारमा पाउँदैन’, उनले भने, ‘एकै हलमा सयौं जना बस्नुपरेकाले कसैलाई कोरोना भए पनि सहजै अरूलाई सर्र्ने डर छ।’


चैत्र २१, २०७६ शुक्रवार १९:०४:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना

  • लकडाउनमा सिंहदरबार वृत्तका डिएसपी फेरिए

    Sobizpress SuAdmin

    चैत्र १७

    लकडाउनमा सिंहदरबार वृत्तका डिएसपी फेरिए

    काठमाडौं। प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा नयाँ डिएसपी पठाएको छ।

    केन्द्रिय अनुसन्धान व्युरो(सिआईबी) मा रहेका डिएसपी हरी वस्नेतलाई प्रधान कार्यालयले सिंहदरबार वृत्तमा हिजो काज सरुवा गरेको स्रोतले वतायो ।

    सिंहदरबारका प्रमुख डिएसपी कौशल बुढाथोकी स्टाफ कलेज तालिममा एक बर्षका लागि छनौट भएपछि वस्नेतलाई सरुवा गरिएको हो।


    चैत्र १७, २०७६ सोमवार १२:४२:४८ बजे : प्रकाशित


    Sobizpress SuAdmin

    He is chief editor of our media and continously working for society.

    एक वर्षको सजाय एक दिनमै भुक्तान

    चैत्र १७

    एक वर्षको सजाय एक दिनमै भुक्तान

    जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका–९ का दिपु भनिने दीपेन्द्र यादव डाँका मुद्दामा दोषी ठहर भएर एक वर्ष कैद सजाय भुक्तानका लागि ११ चैत २०७६ मा महोत्तरीको जलेश्वर कारागार पुगेका थिए । अदालतको फैसलाअनुसार यादवलाई ११ चैत २०७७ मा रिहा हुने गरी कारागार पठाइएको थियो । तर, उनी जेलमा एक दिन मात्रै बसेर रिहा भएका छन् ।

    जलेश्वर कारागार शाखाका जेलर मकसूदन महासेठका अनुसार प्रतिदिन ३ सय रुपैयाँका दरले जरिमाना तिरेर उनी रिहा भएका हुन् । धनुषा जिल्ला अदालतमा निवेदन साथ उपस्थित भएपछि अदालतले उनलाई कैद सजायबापतको जरिमाना लिएर रिहा गर्न आदेश दिएको हो ।

    विगतमा कैदीलाई यस्तो सुविधा थिएन तर कोरोना भाइरसको महामारीको जोखिम नियन्त्रणका लागि ७ चैतमा सर्वोच्च अदालतको पूर्ण बैठकबाट पूर्वतयारी तथा अपनाउनुपर्ने सावधानीका सन्दर्भमा २३ बुँदे परिपत्र जारी गरिएको थियो । त्यही परिपत्रको छैटौं बुँदामा उल्लेख छ, ‘महान्यायाधिवक्ताको कार्यालयबाट अनुरोध भइआएको र विपद्को यो विशेष परिस्थितिमा कारागारमा रहने कैदीबन्दीको भीडभाड कम गर्ने प्रयोजनार्थ मुलुकी फौजदारी कार्यसंहिता, २०७४ को दफा १५५ अनुसारको कैदबापत रकम लिई कैदबाट छोडी पाउन निवेदन परेमा रकम लिई कैदबाट छोडिदिन उपयुक्त देखिए न्यायाधीशको इजलासबाट आवश्यक आदेश गरी छोड्न व्यवस्था गर्ने ।’

    कोरोना भाइरस संक्रमणको जोखिमका कारण एक वर्षसम्म कैद ठहर भएका कैदीलाई अदालतले धमाधम रिहा गर्न थालेको छ । जलेश्वर जेलका जेलर महासेठका अनुसार छोड्नका लागि २८ जनाको सूची बनाइएको छ तिनीहरूलाई क्रमशः छोडिनेछ ।

    सर्वोच्चले मातहतका सबै अदालतमा परिपत्र पठाएपछि एक वर्षसम्म कैद सजाय ठहर भएका र कैद सजाय काटिरहेका कैदीबन्दी धमाधम निवेदनसहित अदालतसमक्ष उपस्थित हुन थालेका छन् ।

    यसरी नै देशका सबै जेलबाट एक वर्ष वा सोभन्दा कम सजाय भुक्तान गरिरहेका कैदीबन्दीको कैदबापत प्रतिदिन ३ सय रुपैयाँ जरिमाना लिएर रिहा गर्न सिफारिसहरू सम्बन्धित अदालतसमक्ष गइरहेको कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कणेलले बताए । ‘सर्वोच्च अदालतको पूर्ण बैठक नै बसेर दैनिक कैदबापत ३०० रुपैयाँ जरिमाना लिएर इजलाससमक्ष पेस गर्ने निर्णय भएकाले देशभरका कारगारबाटै सिफारिस भइरहेको छ,’ महानिर्देशक कणेलले भने, ‘कुल कति जनाको सिफारिस भइसक्यो र कति जना कैदी रिहा भइसके भन्ने तथ्यांक आइसकेको छैन ।’

    देश लकडाउनको अवस्थामा रहेका कारण ती तथ्यांक संकलनमा अलि कठिनाइ भएको उनले बताए । काठमाडौं उपत्यकाबाट मात्र ४० जना जति कैदी रिहा भएको उनले बताए । राजधानी दैनिकबाट


    चैत्र १७, २०७६ सोमवार १२:१८:५४ बजे : प्रकाशित


    चौतारीमा बस्नेलाई हजार, जुवा खेलाउनेलाई दश हजार जरिवाना

    चैत्र १७

    चौतारीमा बस्नेलाई हजार, जुवा खेलाउनेलाई दश हजार जरिवाना

    तनहु । लकडाउनको उल्लङ्घन गर्नेलाई तनहुँको भानु नगरपालिकाले जरिवाना गर्ने निर्णय गरेको छ । कोभिड–१९ को जोखिम कम गर्न सरकारले लागू गरेको लकडाउन पालनालाई प्रभावकारी बनाउन नगरपालिकाले यस्तो निर्णय गरेको हो । भानु नगरपालिकाका प्रमुख उदयराज गौलीको अध्यक्षतामा आज सम्पन्न बैठकले लकडाउनका बेलामा चौतारामा बसेर गफ गर्नेलाई रु एक हजार जरिवाना गर्ने निर्णय गरेको छ । त्यस्तै चियापसल, रक्सीपसल खोल्नेलाई रु दुई हजार, क्यारोमबोर्ड खेल्ने र खेलाउनेलाई रु तीन हजार, जुवातास खेल्नेलाई रु पाँच हजार र खेलाउनेलाई रु दश हजार जरिवाना गर्ने निर्णय भएको छ ।

    साथै अत्यावश्यक खाद्यान्न पसल नखोल्ने र कृत्रिम अभाव सिर्जना गर्न खोज्नेलाई रु पाँच हजार जरिवाना गर्ने निर्णय भएको नगरपालिकाका सूचना अधिकारी सुनिल पाण्डेले जानकारी दिनुभयो । बैठकले सबै वडामा सम्भावित क्वारेन्टाइन व्यवस्थापनका लागि स्थान र आवश्यकता पहिचान गरी वडास्तरीय समन्वय समितिले अविलम्ब पठाउने, अतिविपन्न श्रमिक वर्ग एवं चुल्हो नबल्ने परिवारलाई वडा समिति, सुरक्षाकर्मीको पहिचान गरी अविलम्व विवरण नगरपालिकामा पठाउने, बेवारिसेसमेतको विवरण सङ्कलन गरी उद्धार र खानपानको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

    सूचना अधिकारी पाण्डेका अनुसार खाद्यान्न सङ्कट हुन नदिन उद्योग वाणिज्य सङ्घ र सुरक्षा निकायको समन्वयमा सहज बनाउने व्यवस्था मिलाउने, माग र आपूर्तिलाई सन्तुलन कायम गर्न कृषिजन्य उत्पादनलाई बजारसम्म पु¥याई उद्योग वाणिज्य सङ्घको समन्वयमा बिक्रीवितरण गर्ने, विदेशबाट फर्केका व्यक्तिको वडा समिति, टोल विकास संस्थामार्फत पुनः तथ्याङ्क सङ्कलन गर्ने निर्णय भएको छ ।

    नगरपालिकाले शङ्कास्पद बिरामीको निगरानीका लागि तत्काल दश शय्याको व्यवस्थित क्वारेन्टाइन निर्माण गर्ने भएको छ । नगरपालिकाले बिरामी बोक्न प्रयोग हुने गाडी तथा एम्बुलेन्स चालकको बीमाको व्यवस्था गरेको छ भने कर्मचारीलाई अतिरिक्त प्रोत्साहन भत्ताका व्यवस्था गर्ने भएको छ । कोरोनाका कारणबाट मृत्यु भएमा निजको परिवारलाई उचित राहत रकम उपलब्ध गराउने घोषणा पनि गरिएको छ । राजधानी दैनिकबाट


    चैत्र १७, २०७६ सोमवार १२:१७:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना