images

मनहरी गाउँपालिका देशकै पहिलो बालमैत्री घोषणा

मनहरी गाउँपालिका देशकै पहिलो बालमैत्री घोषणा



काठमाण्डाै । मकवानपुरको मनहरी गाउँपालिका देशकै पहिलो बालमैत्री गाउँपालिका घोषणा भएको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले मनहरी नेपालमै स्थानीय शासन अवलम्बन गर्ने पहिलो बालमैत्री गाउँपालिका भएको घोषणा गरेका हुन् । देशभरका ४ सय ६० गाउँपालिका मध्ये पहिलो बालमैत्री बनेकोमा मनहरी गाउँपालिकाबाट अरु स्थानीय तहले पनि सिकाइ हासिल गर्नसक्ने उनले बताए । उपाप्रधानमन्त्री पोखरेलले देशमै पहिलो बालमैत्री बनेकोमा बधाई दिँदै घोषणा अनुसार कार्यमा निरन्तर लागिपर्न आग्रह गरे । अहिले घोषणाको शुभकामना दिइरहँदा यसलाई यो घोषणा मात्र नहोस् भन्दै उनले बालमैत्री सूचकको निरन्तर निगरानी राख्न समेत आग्रह गरे । बालमैत्री सूचकहरुभित्र बाल बचाउ, बाल संरक्षण, बाल विकास र सार्थक बाल सहभागीता महत्वपूर्ण कुरा भएकोले गाउँपालिकाका सबै पक्षहरुले यसलाई ध्यान दिनुपर्नेमा जोड दिए ।

घोषणासभामा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बालमैत्री घोषणा गर्नुमात्र ठूलो नभएकाले स्थानीय सरकारले हरेक रूपमा बालबालिकाको हितमा लागिपर्नुपर्ने बताए । गाउँपालिका हरेक कुरा बालमैत्री हुनुपर्छ भन्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले बालमैत्री कार्यका लागि स्थानीय तहलाइ आवश्यक बजेट विनियोजन गरेको बताए । यस्तै प्रदेश सरकारले पनि आगामी २०७८ सम्म बालबिवाहमुक्त प्रदेश बनाउने र २०८० सम्म बागमती प्रदेशलाई बालमैत्री प्रदेश बनाउने तयारीमा सरकार अघि बढेको बताए ।

बालमैत्री पालिका घोषणाको लागि गाउँपालिकाले ९ वटै वडामा बाल सञ्जाल, बालमैत्री शाखा बनाएर अभियानलाई अघि बढाएको छ । पालिकाले बालबालिकामैत्री वातावरण निर्माणको लागि ७८ वटा बाल समूह गठन गरेको छ । अभियानको क्रममा गाउँपालिकाले २०७५ मंसिरदेखि ०७६ पुसको २० गतेसम्म १२ वटा बालविवाह रोकेको, एकसय ९४ जना बालबालिकालाई निकृष्ट बालश्रमबाट उद्वार गरेको थियो ।

कुल ४६ हजार आठसय ५३ जनसङ्ख्या रहेको मनहरीमा १५ हजार सातसय ३९ जना बालबालिका छन् । गाउँपालिकामा २०७० देखि २०७५ सम्मको अवधिमा एकहजार दुइसय १६ जनाले बालविवाह गरेका थिए । गाउँपालिकाको वडा ३, ४ र ६ मा बालविवाहबाट बढी प्रभावित छन् । प्रभावित वडाहरुमा घरदैलो कार्यक्रम गरेर जनचेतना जगाउने र गाउँपालिकामा वडा तहमा बाल क्लब गठन गरी सक्रिय बनाउने काम गरेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार


अध्यक्ष तथा प्रबन्ध निर्देशक 

मन्दिर तिमिल्सिना

कार्यकारी निर्देशक 

राजकुमार हुमागाईं

सम्पादक 

मधुकर लुइटेल 


पहिलोपाटी मिडिया हाउस प्रा.लि.

काठमाण्डौ महानगरपालिका -१०

फोन नम्बर : ९८५१०२६६५६

०१ -४४९९८९८, ०१ - ४४९९८९९

इमेल : [email protected]