images

प्रदेश ३ को राजधानी हेटौंडा राख्ने प्रस्तावमा दुई तिहाइ मत

प्रदेश ३ को राजधानी हेटौंडा राख्ने प्रस्तावमा दुई तिहाइ मत



काठमाण्डाै । प्रदेश ३ स्थायी राजधानी हेटौंडा कायम भएको छ । आइतबार बिहान प्रदेश नं. ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी हेटौंडा नै कायम गर्ने प्रस्ताव पास गरेको हो ।

आइतबार बिहान राजधानी हेटौंडा राख्ने प्रस्तावको पक्षमा भएको मतदानमा १०५ सांसदले पक्षमा मतदान गरे । ३ सांसदले भने हेटौंडा स्थायी राजधानी बनाउन नहुने पक्षमा मत जायर गरेका थिए । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले यसअघि नाम र राजधानीबारे निर्णय गरेको थियो । त्यहीँ निर्णयलाई प्रदेशसभा संसदीय दलले सदर गर्दै प्रदेशसभामा पेस गरेको थियो । जसमा प्रमुख विपक्षी नेपाली कांग्रेसँगै राप्रपा, राप्रपा संयुक्त र नेमकिपाले पनि समर्थन गरेका थिए ।

प्रदेशको नाम वागमती राख्न सहमत भएको विवेकशील साझा पार्टीले भने स्थायी राजधानी काभ्रेको धुलिखेल प्रस्ताव गरेको थियो । तर धुलिखेललाई राजधानी बनाउने प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको छ । प्रदेश ३ को राजधानी काभ्रपलाञ्चोक हुनुपर्ने पक्षमा सत्तारूढ नेकपाका अधिकांश प्रदेशसभा सदस्य थिए । उनीहरुले प्रदेशसभामा प्रस्तावसमेत लगेका थिए । हेटौंडाको पक्षमा मकवानपुर, चितवन र सिन्धुलीका सदस्यमात्र थिए ।तर नेकपा केन्द्रीय सचिवालयले हेटौंडा नै स्थायी राजधानी बनाउन प्रदेश कमिटीलाई निर्देशन दिएपछि नेकपाका सांसदले बाध्य भएर हेटौंडाको पक्षमा मतदान गरेका हुन् । कतिपय सांसदले पार्टी निर्णय नमान्ने चेतावनी दिए पनि अन्तिममा हेटौंडाको पक्षमा मतादन गरेका छन् ।

नेकपाले पार्टी निर्णय नमान्ने सांसदको पद जाने चेतावनी दिएको थियो । पार्टीभित्र हेटौंडा राजधानी हुनु हुँदैन भन्नेमा दुई तिहाइ बहुमत भए पनि केन्द्रको निर्णय कार्यन्वयन गर्नुपर्ने बाध्यता आइलागेको प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले बताएकी छन् । सांसदहरुले अँध्यारो अनुहार लगाउँदै हेटौंडाको पक्षमा मतदान गरेका थिए ।

प्रदेशसभामा हेटौंडाको विपक्षमा विवेकशील पार्टीमात्र उभिएको छ । प्रदेशसभाका ११० सिटमध्ये सभामुख सानुकुमार श्रेष्ठले मतदान गरेनन् भने नयाँशक्तिबाट निर्वाचित तर पछिल्लो समय स्वतन्त्र रहेका सांसद् प्रेम तामाङ मतदान प्रक्रियामा अनुपस्थित थिए ।उनको प्रदेशको नाम नेवा ताम्सालिङ राख्ने प्रस्तावमा समर्थक समेत नपाएपछि प्रक्रियामा सहभागी नभएका हुन् । राजधानीबारे टुंगो लागेपछि प्रदेशसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । अब बस्ने बैठकले प्रदेशको नामबारे निर्णय गर्ने छ । प्रदेशको नामबारे भने एउटा मात्रै वागमती राख्ने प्रस्ताव परेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार


अध्यक्ष तथा प्रबन्ध निर्देशक 

मन्दिर तिमिल्सिना

कार्यकारी निर्देशक 

राजकुमार हुमागाईं

सम्पादक 

मधुकर लुइटेल 


पहिलोपाटी मिडिया हाउस प्रा.लि.

काठमाण्डौ महानगरपालिका -१०

फोन नम्बर : ९८५१०२६६५६

०१ -४४९९८९८, ०१ - ४४९९८९९

इमेल : [email protected]